अमेरिकाबाट नेपाली मूर्ति फिर्ता, दुई प्राचीन सम्पदा नेपाललाई हस्तान्तरण
प्रकाशित मिति
June 24, 2026पढ्न लाग्ने समय
१ मिनेट पढ्न लाग्ने
दशकौँअघि नेपालबाट चोरी भई अवैध रूपमा अमेरिका पुर्याइएका दुई प्राचीन नेपाली सांस्कृतिक सम्पदा नेपाललाई औपचारिक रूपमा फिर्ता गरिएको छ। न्यूयोर्कस्थित नेपालको महावाणिज्य दूतावासमा आयोजित हस्तान्तरण समारोहमा पद्मपाणि र नृत्य देवीका मूर्ति नेपाल सरकारलाई फिर्ता गरिएको हो।
हस्तान्तरणसम्बन्धी सम्झौतामा न्यूयोर्कका लागि नेपालका महावाणिज्यदूत दधिराम भण्डारी र म्यानह्याटन जिल्ला महान्यायाधिवक्ता कार्यालयअन्तर्गतको प्राचीन वस्तु तस्करी नियन्त्रण एकाइका प्रमुख कर्नेल म्याथ्यु बोग्डानोसले हस्ताक्षर गरेका थिए।
फिर्ता गरिएका सम्पदामध्ये १३औँ शताब्दीको कांस्य पद्मपाणि मूर्ति काठमाडौँस्थित थं बहिल, अर्थात् विक्रमशील महाविहार, भगवान बहालसँग सम्बन्धित रहेको जनाइएको छ। उक्त मूर्ति सन् १९७१ मा अन्तिम पटक अभिलेख गरिएको थियो। त्यसपछि सन् १९७१ देखि १९७७ बीचमा यो मूर्ति नेपालबाट अवैध रूपमा बाहिर लगिएको बताइएको छ।
त्यस्तै, १६औँ शताब्दीको काठबाट बनेको नृत्य देवीको मूर्ति ललितपुरस्थित इबहा बहीबाट चोरी भएको जनाइएको छ। स्रोतअनुसार यो मूर्ति सन् १९६९ देखि १९८३ बीचमा चोरी भएको थियो। पछि उक्त मूर्ति न्यूयोर्कस्थित मेट्रोपोलिटन कला सङ्ग्रहालयबाट बरामद गरिएको थियो।
यी सम्पदाको फिर्ती म्यानह्याटन जिल्ला महान्यायाधिवक्ता कार्यालय, अमेरिकी गृह सुरक्षा अनुसन्धान निकाय र पुरातात्त्विक सम्पदा तस्करीविरुद्ध काम गर्ने साझेदार निकायहरूको समन्वित प्रयासबाट सम्भव भएको जनाइएको छ।
महावाणिज्यदूत भण्डारीले अमेरिकी निकाय, अनुसन्धानकर्ता, सङ्ग्रहालय र नेपाली समुदायप्रति आभार व्यक्त गर्दै यो घटनालाई सांस्कृतिक सम्पदा संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्यको उदाहरणका रूपमा उल्लेख गरेका छन्।
