रसुवाका बाढी प्रभावित क्षेत्रमा हेलिकप्टरमार्फत १५ क्विन्टल राहत सामग्री
प्रकाशित मिति
August 30, 2026पढ्न लाग्ने समय
2 मिनेट पढ्न लाग्ने
भोटेकोशी बाढीका कारण प्रभावित बनेको रसुवाका विभिन्न क्षेत्रमा सरकारले हेलिकप्टरमार्फत अत्यावश्यक खाद्यसामग्री पठाउन थालेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका अनुसार आइतबार बिहान तीनवटा हेलिकप्टरमार्फत १५ क्विन्टल राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको हो।
बाढीका कारण जिल्लाको मुख्य सडक तथा पुलमा क्षति पुगेपछि सडकमार्फत राहत सामग्री पुर्याउन कठिनाइ भएको अवस्थामा हवाई माध्यमबाट सामग्री पठाइएको हो। प्रभावित क्षेत्रका बासिन्दाका लागि चामल, दाल, नुन र तेललगायतका अत्यावश्यक खाद्य सामग्री पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार खैबी, डाँडा गाउँ, हाकु, ठूलो गाउँ, शेर्पा गाउँ र खाम्जिङलगायतका बाढी प्रभावित स्थानमा राहत सामग्री पठाइएको छ। यी क्षेत्रमा आवश्यकताका आधारमा प्राथमिकता निर्धारण गरी खाद्य सामग्री उपलब्ध गराउने तयारी गरिएको छ।
राहत सामग्री वितरण जिल्ला विपद् व्यवस्थापन समितिमार्फत सुरु गरिएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार प्रभावित क्षेत्रमा थप अत्यावश्यक सामग्री पुर्याउन आवश्यकताअनुसार थप हेलिकप्टरसमेत प्रयोग गरिनेछ। राहत तथा उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी परिचालन भएका छन्।
जिल्ला प्रशासन कार्यालयले विपद्को समयमा हल्लाको पछि नलाग्न तथा अनावश्यक भ्रम सिर्जना नगर्न आग्रह गरेको छ। सही र आधिकारिक सूचनाका लागि जिल्ला विपद् व्यवस्थापन समितिसँग सम्पर्क गर्नसमेत आग्रह गरिएको छ। राहत वितरणसँगै प्रभावित क्षेत्रमा उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका काम अघि बढाउने सरकारी संयन्त्रले जनाएको छ।
यसअघि भोटेकोशी बाढीका कारण रसुवाका विभिन्न क्षेत्रमा आवतजावत प्रभावित बनेको थियो। अहिले सरकारले सडक पहुँचमा समस्या भएका प्रभावित बस्तीमा हवाई माध्यमबाट अत्यावश्यक खाद्य सामग्री पुर्याउने कामलाई प्राथमिकता दिएको छ।
